काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वास को मत लिने प्रयोजनका लागि मंगलबार अर्थात आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
एमाले नेता आचार्य नेपाली कांग्रेससँगको गठबन्धनबाट गएको साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलको उपनेता थिए । आचार्य तीन दिनअघि मात्रै एमाले संसदीय दलको नेता चयन भएका हुन् । दलको नेता चयन भएपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । आचार्यलाई कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थन छ ।
आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेले ह्वीप नै जारी गरेका छन् । उनलाई जसपाका २, जसपा नेपालका एक र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले पनि समर्थन गर्ने जनाएका छन् । आचार्यले विश्वासको मत पाउने सुनिश्चित जस्तै छ ।
लुम्बिनी प्रदेशसभामा माओवादीका १०, राप्रपाका ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका उकरएक जना गरी १७ सांसद उनको विपक्षमा उभिने तयारीमा छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ । मुख्यमन्त्री आचार्य एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।
