काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ६ साउनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार यही आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली कांग्रेसको साथमा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण लिएका प्रधानमन्त्री ओलीको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र लोसपाका तर्फबाट मन्त्रीहरू बनेका छन्।



