काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्र समेतको मनोबल बढाउने रहेको बताउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको समेत बताउनुभयो ।
आगामी बर्ष कृषिक्षेत्रमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकीकरण तथा प्रविधिको प्रयोग गरी उत्पादन, भण्डारण, प्रशोधन एवं वितरणका समग्र चरणमा सुधार गर्दै उत्पादन तथा उत्पादकत्व बढाउने लक्ष्य रहेको उहाले बताउनुभयो ।
उहाले कृषि क्षेत्रमा सरकारले उच्च महत्व र प्राथमिकता दिएको उल्लेख गर्नुभयो । सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकास प्रति प्रतिवद्ध रहेको उहाको भनाइ छ ।
उहाले सबै निर्वाचन क्षेत्रमा समान विनियोजन नभएको हुनसक्ने भन्दै सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्र वा मन्त्रीका नजिकका व्यक्तिका लागि मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको बताउनुभयो । उहाले सरकारको प्राथमिकता सन्तुलित एवं समानुपातिक विकास गर्ने रहेको स्पष्ट पार्नुभयो ।
उहाले सरकारले गर्ने लगानी, प्रत्यक्ष वैदेशिक लगानीमा हुने थप वृद्धि र निजी क्षेत्रबाट परिचालन हुने लगानी समेतका कारण थप रोजगारीका अवसर सिर्जना भई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवालाई आकर्षण गर्ने नीति बजेटले लिएको पनि बताउनुभयो ।
