वीरगञ्ज । पर्साको वीरगञ्जमा प्रसिद्ध गहवामाईको दोस्रो रथयात्रा असार २३ गते निकालिने भएको छ । वीरगञ्ज महानगरको ऐतिहासीक एवं धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा यहि असार २३ गते वृहत्त रथ यात्रा निकिलिने समितिका अध्यक्ष श्याम पोखरेलले बताए ।
गत वर्षदेखि सुरु भएको रथ यात्रालाई यसवर्ष निरन्तरता दिँदै थप भव्य रुपमा रथयात्रा निकालिने तयारी भइरहेको अध्यक्ष पोखरेलले बताए । रथयात्राका लागि समितिले रथ भित्रको मण्डपलाई चाँदीको बनाउने र काठले बनाइएको पुरानो रथलाई थप व्यवस्थित गर्ने काम भइरहेको उनले बताए ।
एक महिना अघिदेखि नै रथको मण्डपलाई काठमाडौंको विशेष कारिगरसँग चाँदीको पत्र जडान गर्ने काम सुरु भइसकेको समितिले जनाएको छ । रथको मण्डपलाई चाँदीको पत्रले ढाक्न १५ किलो बराबरको चाँदी खपत हुने समितिले जनाएको छ । जसमा अहिलेसम्म स्थानीय दाताहरूले सहयोग गरिरहेको रथ समितिका उपाध्यक्ष देवानन्द कलवारले बताए ।
गहवामाईको रथ निर्माणमा पछिल्लो वर्ष करिब २० लाख रुपैयाँ खर्च भएको रथ यात्रा निर्माण समितिका महा–सचिव पप्पु गुप्ताले बताए । यस वर्षको खर्च रथ यात्रा निकालिएपछि मात्र बताउन सकिने उनले बताए ।
गत वर्ष रथ यात्राका लागि वीरगञ्ज महानगरपालिकाले ३ लाख रुपैयाँ, माईस्थान मन्दिर सञ्चालक समितिले साढे ३ लाख र बाँकी रकम स्थानीय दाताहरूले दान स्वरुप सहयोग गरेको उनले बताए ।
गत वर्ष रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको थियो। जसमा वन विभागबाट सरकारी मूल्यमा काठ उपलब्ध गराइएको थियो। सखुवा र सिसमको काठले तयार पारिएको रथ २ महिनामा तयार भएको थियो ।
