काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थीरता कायम हुन नसकेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभअन्तर्गतको पावर संवाद सत्रमा उहाँले मुलुकको संवैधानिक व्यवस्था, निर्वाचन प्रणालीका कारण संघमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको र राजनीतिक स्थीरता कायम हुन नसकेको बताउनुभएको हो ।
कुनै पनि एउटा पार्टीको बहुमत नभएको अवस्थामा मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेकाले यहि बिषयलाई अन्यथा रुपमा बुझ्न नहुने उहाको भनाइ छ । मन्त्री शर्माले केन्द्रको सरकार सुशासनको पक्षमा दृढताका साथ उभिएको भन्दै मुलुकको परिवर्तनप्रति सकारात्मक भाष्य सिर्जना गर्न सफल भएको दावी गर्नुभयो ।
त्यस्तै उहाले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिई सूचना प्रविधि दशक घोषणा गरिएको बताउनुभयो । मन्त्री शर्माले आईटि दशकको अवधिमा आइटी क्षेत्रमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने जानकारी दिनुभयो ।
सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवधान रहेको महसुस गरी सरकारले नीतिगत तथा कानुनी सुधार गर्न लागेको मन्त्री शर्माको भनाइ छ । उहाले सरकार डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमार्फत आम नागरिकको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा केन्द्रित रहेको पनि बताउनुभयो ।



