काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक १.१५ बजे बस्नेछ ।
प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१\०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।
सभामुख देवराज घिमिरेले नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०६४ सालको संविधान सभामा ताप्लेजुङ्ग निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित र २०७० सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत संविधान सभा सदस्यमा निर्वाचित सदस्य, पूर्वश्रम तथा रोजगार र स्थानीय विकासमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएका सूर्यमान गुरुङको ८२ वर्षको उमेरमा मिति २०८१ साल वैशाख २५ गते मंगलवार उपचारको क्रममा असामयिक भएको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुहुनेछ ।



