काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको आरोप लगाउनुभएको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदीय छानविन समिति गठनका बिषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको आरोप लगाउनुभएको हो ।
उहाले अधिकतम लचक भएर कांग्रेसले भनेका बिषयलाई सम्बोधन गर्न खोजेपनि कांग्रेसले एकपछि अर्को माग लिएर प्रस्तुत भएको बताउनुभयो । सहमतिको नजिक पुगेको काम शुन्यमा पुराउने काम कांग्रेसबाट भएको उहाको भनाइ छ । बर्तौलाले कांग्रेसले निरन्तर संसदमा बबण्डर गर्नु औचित्यहिन काम भएको धारणा राख्नुभयो ।
त्यस्तै कांग्रेस सहमहामन्त्री जीवन परियारले सहमतिका लागि कांग्रेसले तयार पारेको प्रस्तावमाथि सत्तापक्ष सहमत नभएको बताउनुभयो । उहाले गोर्खा मिडियामा बिभिन्न सहकारीको रकम अपचलन भएको सो मुद्दामा रवि लामिछाने संलग्न भएको कांग्रेसको धारणाप्रति पटक पटक छलफल भएपनि निष्कर्ष निस्कन नसकेको उल्लेख गर्नुभयो ।
कार्यदलमा भएको छलफलमा लामिछानेको नाम राख्न सत्तापक्षले अस्वीकार गरेको र सत्तापक्षले एकपछि अर्को शव्दावलीमा नयाँ अडान राखेको उहाले आरोप लगाउनुभयो । परियारले संसदीय छानविन समितिको कार्यादेशमा लामिछानेको नाम उल्लेख नभएसम्म कांग्रेस पछि नहट्ने जिकिर गर्नुभयो ।
त्यस्तै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जेठ १५ गतेसम्म सहमतिको प्रयास गरिने बताउनुभयो । उहाले प्रतिपक्षीले उठाएका सवै मागप्रति सरकार सकारात्मक रहेपनि अडान नछाडेको आरोप लगाउनुभयो । उहाले गृहमन्त्रीको बिषयका साथै सवै सहकारी पिडितहरुको न्याय हुने गरि संसदीय छानविन समिति बनाउन सरकार तयार रहेको बताउनुभयो ।



