३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी आन्तरिक पूर्वतयारी तीव्र पारेको छ ।
संविधान तथा प्रचलित कानुनमा व्यवस्था भएबमोजिम स्थानीय तहका पदाधिकारीहरूको कार्यकाल समाप्त हुनुअगावै निर्वाचनको मिति घोषणा गर्ने तयारीस्वरूप आयोगले यो कदम चालेको हो ।
सोमबार कुराकानी गर्दै निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको वातावरण बनाउन र आवश्यक परामर्शका लागि आगामी मंसिर ४ गते प्रमुख राजनीतिक दलहरूलाई आयोगमा औपचारिक छलफलका लागि बोलाइएको जानकारी दिए । उनका अनुसार दलहरूसँगको विस्तृत छलफलपछि आयोगले निर्वाचनको मितिबारे औपचारिक निष्कर्ष निकालेर सरकारलाई सिफारिस गर्नेछ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को प्रावधानअनुसार गाउँसभा वा नगरसभाका सदस्यहरूको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन भईिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
आयोगको यही सिफारिस र कानुनी टेकोका आधारमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक प्रावधान छ । निर्वाचन आयोगले दलहरूसँगको सहमति र कानुनको पालना गर्दै समयमै चुनाव सम्पन्न गराउने दिशामा आवश्यक गृहकार्य अगाडि बढाइरहेको छ ।
