३० कात्तिक, काठमाडौँ । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना र अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व औपचारिक रूपमा सम्पन्न भएको छ ।
चार दिनसम्म विभिन्न कठिन विधि र निष्ठापूर्वक मनाइने यो महान् पर्व आज बिहानको अर्घ्यसँगै विधिवत् रूपमा समापन भएको हो ।
कात्तिक शुक्ल षष्ठीका दिन हिजो दिनभर निराहार व्रत बसेका व्रतालुहरूले हिजै बेलुकी अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी पहिलो अर्घ्य अर्पण गरेका थिए ।
त्यसपछि रातभर नदी, पोखरी तथा जलाशय किनारमै जाग्राम बसेका श्रद्धालु तथा व्रतालुहरूले आज बिहान सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
यतिबेला काठमाडौँ उपत्यकासहित तराई–मधेस र देशका विभिन्न जलाशय किनारहरूमा अर्घ्य दिने व्रतालु तथा दर्शनार्थीहरूको उल्लेख्य घुइँचो लागेको छ ।
पर्वलाई मध्यनजर गर्दै नदी तथा पोखरीका किनारहरूलाई दुलहीझैँ सिँगारेर झकिझकाउ बनाइएको छ, जसले छठको रौनकलाई अझ भव्य बनाएको छ ।
यस वर्ष सरकारले छठ पर्वको मुख्य दिन मात्र नभई आज उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् सप्तमीका दिनमा पनि सार्वजनिक बिदा दिएको छ ।
यसअघि षष्ठीको दिन मात्र बिदा दिइने गरेकामा सरकारले पहिलो पटक यस दिनसमेत सार्वजनिक बिदा दिएपछि पर्व मनाउन थप सहज र उत्साहजनक बनेको छ ।
