३० कात्तिक, काठमाडौं ।अमेरिकाको हवाई यातायात प्रणालीमा शुक्रबार देखिएको प्राविधिक समस्याको असर तेस्रो दिन आइतबारसम्म पनि जारी रहँदा हजारौँ यात्रु मर्कामा परेका छन् ।
फ्लाइटअवेयरका अनुसार आइतबार मात्रै २ हजार ३ सयभन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७ सय उडान ढिलाइ भएका छन् ।
यद्यपि, अमेरिकी यातायातमन्त्री सिन डफीले सोमबारसम्म हवाई सेवा नियमित लयमा फर्किने अपेक्षा गरेका छन्, तर विमान र चालक दल (क्रु) निर्धारित स्थानमा नपुगिसकेकाले सेवा पूर्ण सुचारु हुन केही समय लाग्ने उनको भनाइ छ ।
संघीय उड्डयन प्रशासन (एफएए) को एयर ट्राफिक कन्ट्रोल सञ्चार नेटवर्कमा समस्या आएपछि शुक्रबार करिब पाँच घण्टा देशभरका उडान रोकिएका थिए ।
पुराना तामाका तारलाई फाइबर अप्टिकमा रूपान्तरण गर्ने क्रममा अर्कान्सास र टेक्सासमा जडान गरिएका नयाँ राउटरबाट अस्वाभाविक रूपमा अत्यधिक डाटा प्रवाह हुँदा सञ्चार प्रणाली अवरुद्ध भएको हो । हाल उक्त राउटरसहित त्यस्तै अन्य ६० वटा राउटरको प्रसारण सुविधा बन्द गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा साइबर आक्रमणको संकेत नदेखिएको र घटनाबारे एफएए तथा सेवा प्रदायक कम्पनीले विस्तृत छानबिन गरिरहेका छन् । उडान अवरुद्ध हुँदा युरोप र बेलायततर्फका अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएका थिए ।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्प र यातायातमन्त्री डफीले ५० वर्ष पुराना हवाई नियन्त्रण उपकरणहरू आधुनिकीकरण गर्न कंग्रेससँग थप बजेट माग गरेका छन्, यद्यपि विपक्षी डेमोक्रेटिक सांसदहरूले यसअघिकै बजेट खर्च हुन बाँकी रहेको भन्दै प्रश्न उठाएका छन् ।
