काठमाडौं । यमपञ्चक अर्थात् नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरी ‘भाइटीका’ पर्व धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वलाई ‘यमद्वितीया’ पनि भनिन्छ ।
आजको दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै श्रद्धापूर्वक सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने प्रचलन छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई टीका तथा उपहार प्रदान गर्ने परम्परा छ । धार्मिक मान्यता अनुसार यस दिन विधिपूर्वक दिदीबहिनीको पूजा गर्ने तथा उनीहरूबाट टीका ग्रहण गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुन्छ ।
टीकाको साइत र शास्त्रीय मान्यता
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा। डा। पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर नै टीका लगाउन सकिने भए पनि साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको समय अति उत्तम रहेको छ । यद्यपि, राज्य सञ्चालकहरूले भने समितिले निर्धारण गरेको साइतमा नै टीका लगाउनुपर्ने व्यवस्था रहेको छ ।
आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन् भने त्यसअघि तुला राशिमा रहनेछन्। तुला राशिमा चन्द्रमा रहेका बेला पनि सोही दिशाको अनुकूलता हेरी टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिएका छन् । शास्त्रीय मान्यता अनुसार कुनै पनि शुभकार्य गर्दा चन्द्रमालाई अगाडि या दाहिने पार्नुपर्ने नियम रहिआएको छ ।
भाइटीकाको दिन बिहानैदेखि दिदीबहिनीहरूले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको विधिपूर्वक पूजा आराधना गर्छन् । पूजाको मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवीहरू—मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा वनस्पति देवताहरूको समेत आह्वान गरी पूजा गरिन्छ ।
दिदीबहिनीले तेलको धाराले दाजुभाइलाई घेरेर सुरक्षित बनाउँदै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने र मखमली, सयपत्री तथा गोदावरी फूलका सुगन्धित माला पहिर्याउने चलन छ । यद्यपि व्यापक रूपमा सप्तरङ्गी टीका लगाउने प्रचलन रहे पनि शास्त्रीय विधानअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले स्पष्ट पारेका छन् ।
टीका ग्रहण गरेपश्चात् दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, विभिन्न मरमसला र सेलरोटीलगायतका मिष्ठान्न परिकार खुवाउने गर्छन् । बदलामा दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार साडी, कपडा, सौभाग्यका प्रतीक वस्तुहरू र नगद दक्षिणासहित सम्मान प्रकट गर्ने सामाजिक तथा सांस्कृतिक परम्परा सदियौँदेखि कायम रहँदै आएको छ । यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ ।
