१३ कात्तिक,काठमाडौं । जनकपुरधामदेखि भारतको पवित्र धार्मिक तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा विशेष रेल सेवाको उद्घाटन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ ।
यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको उनले जानकारी दिए । प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ ।
रामायण सर्किटअन्तर्गत जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा दुवै देशका अधिकारीबीच छलफल भइरहेको पराजुलीले बताए । नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।
केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो ।
जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्या रेल सेवामार्फत जोडिँदा रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए ।
विशेष रेल सेवा सञ्चालनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीच पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।
