वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोइन्टबाट प्रहरीले करिब ८० हजार रुपैयाँ मूल्य बराबरका अवैध पटका बरामद गरेको छ। पटका ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान करिब ८ः३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा पटका बरामद गरेको हो।
सिम्रौनगढबाट माछा लोड गरी काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको पिकअपलाई पथलैया चेकपोइन्टमा रोकेर जाँच गर्दा माछाको लोडभित्र लुकाइछिपाइ ल्याइएका विभिन्न सात प्रकारका ६४ डिब्बा पटका फेला परेको प्रहरीले जनाएको छ।
पटका ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको राजपुर कुडिया नगरपालिका–५ निवासी २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ निवासी २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बरामद पटाकामा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन्।
बरामद पटाकाको कुल अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामग्री तथा नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
