११ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष निर्देशनमा सञ्चालन गरिएको ‘स्विप अपरेसन’का क्रममा २४ घण्टाभित्र विभिन्न स्थानबाट ९२ जना पक्राउ परेका छन् ।
परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा ८४ जना पुरुष र ८ महिला रहेका छन् । अपराध रोकथाम, नियन्त्रण तथा समाजमा शान्ति सुव्यवस्था कायम राख्न उच्छृङ्खल गतिविधि गर्ने र आपराधिक पृष्ठभूमि भएका शंकास्पद व्यक्तिहरूमाथि प्रहरीले विशेष निगरानी बढाइरहेको छ ।
नागरिकको जीउधनको सुरक्षा र अमनचैन कायम गर्न यस्ता विशेष सुरक्षा अभियानहरूलाई आगामी दिनमा पनि थप प्रभावकारी रूपमा निरन्तरता दिइने प्रहरीको भनाइ छ ।
