वीरगञ्ज । देशको प्रमुख व्यापारी नाकाको रूपमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पछिल्लो एक महिना (असोज महिना) मा उत्साहजनक राजस्व संकलन गरेको छ । कार्यालयले निर्धारित लक्ष्यलाई पछि पार्दै कुल २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।
भन्सार कार्यालयले असोज महिनाका लागि कुल २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । आर्थिक मन्दीका बाबजुद आयातनिर्यातमा देखिएको सामान्य सुधार र विभिन्न वस्तुहरूको आयात वृद्धिका कारण लक्ष्यभन्दा बढी राजस्व उठ्न सफल भएको कार्यालयले जनाएको छ ।
प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले दिएको जानकारीअनुसार असोज महिनामा मात्रै इन्धन आयातबाट सबैभन्दा बढी दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।
त्यसैगरी, खाना पकाउने एलपी ग्यासको आयातबाट एक अर्ब ८० करोड, सडक निर्माणमा प्रयोग हुने अलकत्रा ९बिटुमिन० आयातबाट एक अर्ब ४० करोड र फलफूलतर्फ मुख्यतया स्याउ तथा नास्पाती आयातबाट मात्रै ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ । मुख्य वस्तुहरूको आयातमा आएको वृद्धिका कारण राजस्व संकलन सन्तोषजनक देखिएको भन्सार प्रशासनले जनाएको छ ।
