काठमाडौं । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत तथा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन विशेष अपिल जारी गरेको छ ।
पछिल्लो समय सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि दूतावासले एक सूचनामार्फत नेपालीहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन कडाइका साथ निर्देशन दिएको हो ।
दूतावासले जारी गरेको ५ बुँदे सुरक्षा अपिलमा साउदी अरेबियाका सम्बन्धित आधिकारिक निकायहरूबाट जारी हुने सुरक्षा सम्बन्धी सम्पूर्ण निर्देशनहरूको कडाइका साथ पालना गर्न आग्रह गरिएको छ । विशेष गरी सुरक्षा चेतावनी जारी भएको र जोखिम कायम रहेको अवस्थामा अनावश्यक रूपमा आवतजावत नगर्न सुझाइएको छ ।
त्यसैगरी, सामाजिक सञ्जालको प्रयोगमा अत्यधिक सावधानी अपनाउन नेपालीहरूलाई सचेत गराइएको छ । साउदी अरेबियाका आधिकारिक निकायबाट पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, फोटो तथा भिडियोहरू फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालहरूमा सेयर वा पोस्ट नगर्न तथा अरूलाई नपठाउन कडा निर्देश गरिएको छ ।
यसका साथै, हाल हवाई यात्राको तयारीमा रहेका नेपालीहरूका लागि पनि दूतावासले विशेष सावधानीको खाँचो औंल्याएको छ । साउदी अरेबियाबाट नेपाल वा अन्य गन्तव्यतर्फ उडान भर्नुअघि आफ्नो उडानको तालिकामा कुनै परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट राम्रोसँग यकिन गरेर मात्र विमानस्थलतर्फ प्रस्थान गर्न अनुरोध गरिएको छ ।
सुरक्षा अवस्था वा अन्य कुनै पनि आकस्मिक परिस्थति उत्पन्न भएमा वा सहायता चाहिएमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा तत्काल सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।
