वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा पाँच जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४ का ५० वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद तथा रौतहटको बौधिमाई नगरपालिका–९ का सुमेश्वर जैसवाल रहेका छन्।
यस्तै, प्रहरीले क्यासिनोमा कार्यरत एक जना कर्मचारीलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्ने कर्मचारी बाराको परवानीपुर गाउँपालिकाका सुनिल पटेल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार छापामारीका क्रममा नगद, क्यासिनोमा प्रयोग हुने क्वाइन, मोबाइल फोनलगायतका सामग्रीसमेत बरामद गरिएको छ। क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
