बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित ब्रह्मबाबा चौरको नहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय हरिनारायण सहनी रहेको प्रहरीले जनाएको छ। उनी बुधबार बिहान नहरमा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार सहनीका छोरा राम विनय सहनीले बिहान करिब ६ बजे नहरमा बुबालाई मृत अवस्थामा देखेपछि शव नहरबाट निकालेर डिलमा राखेका थिए। त्यसपछि उनले बिहान ६ः२० बजे इलाका प्रहरी कार्यालय जितपुरलाई घटनाबारे जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ हवल्दार उमेश निरौलाको कमान्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेपछि आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा सोको (SOCO) सहित पाँच जनाको टोलीसमेत घटनास्थल पुगेको थियो।
प्रहरीले बिहान करिब ८ः१५ बजे प्रारम्भिक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। पोस्टमार्टमपछि बिहान करिब ११ः२५ बजे मृतकका छोरा विनय सहनीले शव बुझिलिएको प्रहरीले जनाएको छ। सहनीको मृत्यु कसरी भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
