जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेपालबीच छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले आज छलफल गरेका हुन् ।
छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव समेत थिए । जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी छलफल भएको एक नेताले बताए ।
ती नेताका अनुसार जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा नयाँ सरकार बनाउने गरी नयाँ गठबन्धन बनाउने प्रयास भइरहेको छ । हिजो शुक्रबार मात्रै नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएको थियो ।
