जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनापछि उपचारमा ढिलाइ भएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयको समूहले प्रादेशिक अस्पताल जनकपुरमा तोडफोड र ढुङ्गामुढासमेत गरेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार शनिबार राति करिब १० बजे पौडेश्वरबाट तेतरियातर्फ आउँदै गरेको ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको म.प्र.०२–००९ प ११५७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा ज ११ प ३०५८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम–१७ निवासी सुजित यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुजितको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको डीएसपी खनालले जानकारी दिए । सोही मोटरसाइकलमा सवार स्थानीय २५ वर्षीय बलराम यादवको खुट्टामा चोट लागेको छ र उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
त्यस्तै, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ निवासी २० वर्षीय रामपुकार यादव र सोही मोटरसाइकलमा सवार ३४ वर्षीय अखलेश यादव गम्भीर घाइते भएका छन् । उनीहरू दुवै जनाको जनकपुर न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबिच, दुर्घटनामा परेका सुजित यादवको उपचारमा अस्पताल प्रशासनले ढिलाइ गरेको भन्दै आक्रोशित बनेका आफन्त र छिमेकीहरूले प्रादेशिक अस्पताल जनकपुरमा तोडफोड गरेका छन् ।
राति करिब १५ देखि २० जनाको समूहमा आएका युवकहरूले अस्पताल परिसरमा ढुङ्गामुढा प्रहार गरेका थिए। तोडफोड र ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले जनकपुरधाम–१७ निवासी २० वर्षीय गणेश यादवलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूलाई सामान्य बल प्रयोग गरी तितरबितर पारिएको र स्थिति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
