वीरगञ्ज । बडादसैँ एवं नवरात्रको आठौँ दिन आज (आइतबार) दसैँघर तथा पूजाकोठाहरूमा नवदुर्गामध्येकी आठौँ रूप महागौरी देवीको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको अनुष्ठान गर्ने वैदिक सनातनी परम्परा रहेको छ ।
पौराणिक तथा शास्त्रीय ग्रन्थहरूका अनुसार महागौरी देवीको रङ सुरुमा केही कालो भएकाले भगवान् शिवले एक दिन ठट्टा गर्दै देवीलाई ‘काली’ भन्नुभएको थियो । उक्त शब्द भगवतीलाई मन नपरेपछि उहाँले कठोर तपस्या गरी पुनः गोरो वर्ण प्राप्त गर्नुभएको र सोही कारण उहाँको नाम ‘महागौरी’ रहन गएको हो । महागौरी देवी सेतो वृषभ (साँढे) माथि सवार, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी कल्याणकारी स्वरूपमा रहने वर्णन पाइन्छ ।
यस वर्ष असोज २५ गते आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएसँगै नवरात्र सुरु भएको थियो। पहिलो दिन घटस्थापना गरिएको स्थानमा शैलपुत्री देवीको आह्वान गरी पूजा गरिएको थियो ।
त्यसपछि क्रमशस् दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन शनिबार कालरात्रि देवीको विधिपूर्वक पूजा-आराधना गर्नुका साथै घर-घरमा फूलपाती भित्र्याइएको थियो। आज आठौँ दिन महागौरीको पूजा गरिँदै छ भने भोलि नवौँ दिन नवदुर्गाको अन्तिम स्वरूप सिद्धिदात्रीको पूजा गरिनेछ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठ गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य, समृद्धि र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि सुरु भई कोजाग्रत पूर्णिमासम्म लगाइने र १५ दिनसम्म दसैँ पर्व मनाइने गरिन्छ ।
सातौँ दिनपछि सरकारले सार्वजनिक बिदा दिएकाले आज महाअष्टमीका अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, दक्षिणकालीसहित उपत्यका बाहिरका वीरगञ्जको गहवामाई, पाल्पाको छ्याकोट, काभ्रेको पलाञ्चोक भगवती, गोर्खाको मनकामनालगायत देशभरका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थी भक्तजनहरूको बाक्लो भीड लागेको छ ।
