काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय (ओडीआई) त्रिकोणात्मक शृङ्खलामा नेपालले आज (शनिबार) आफ्नो तेस्रो खेलमा क्यानडाको सामना गर्दै छ ।
ओमानको अल अमारात स्थित अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने यो महत्त्वपूर्ण भिडन्त नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु भईसकेको छ ।
जारी शृङ्खलामा नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ। यसअघि खेलिएका दुवै खेलमा नेपालले सानदार जित हासिल गरेको थियो । शृङ्खलाको पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा घरेलु टोली ओमानलाई पराजित गर्दै नेपालले लगातार दुई जित दर्ता गरिसकेको छ। आजको खेल जित्दै नेपाल शृङ्खलामा जितको ‘ह्याट्रिक’ पुरा गर्ने लक्ष्यमा छ ।
लिग(२ को अङ्क तालिकामा हाल नेपाल छैटौँ स्थानमा छ। नेपालको ३४ खेलबाट २८ अङ्क रहेको छ भने सातौँ स्थानमा रहेको क्यानडाको ३५ खेलबाट २७ अङ्क छ ।
क्यानडाले सुरुवाती दुई खेलमा नेपाल र ओमानसँग पराजय भोगे पनि बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई स्तब्ध बनाएको थियो। क्यानडाको उक्त जितले नेपालको शीर्ष ६ भित्र पर्ने सम्भावनालाई केही समयका लागि लम्ब्याइदिएको छ ।
आजको खेलमा क्यानडालाई पराजित गरेमा नेपालले अङ्क तालिकाको छैटौँ स्थान सुरक्षित गर्नेछ। यदि आजको खेलमा नेपाल पराजित भएमा भने छैटौँ स्थान पक्का गर्नका लागि अन्तिम खेलमा आगामी सोमबार पुनः ओमानलाई हराउनुपर्ने बाध्यता रहनेछ । त्यसैले नेपाली टोली आजै जित निकालेर अन्तिम खेलअघि नै स्थान सुरक्षित गर्ने दाउमा रहनेछ ।
