काठमाडौं । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन (शुक्रबार) घर-घरका पूजा कोठा तथा दसैँघरहरूमा अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा माता कात्यायनीको विधिपूर्वक पूजा-अर्चना र ध्यान गरिँदै छ ।
धार्मिक विश्वासअनुसार आजका दिन कात्यायनी भगवतीको निष्ठापूर्वक पूजा-आराधना गर्नाले मानव जीवनका सम्पूर्ण रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई मानिस प्रगतिको पथमा अघि बढ्छ । कात्यायनी देवीलाई धर्म, अर्थ, काम र मोक्ष गरी चारवटै पुरुषार्थ प्रदान गर्ने अमोघ फलदायिनी देवीका रूपमा मानिन्छ ।
शास्त्रअनुसार कत ऋषिका पुत्र कात्यको गोत्रमा जन्मिएका विश्वप्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बालाई आफ्नी पुत्रीका रूपमा पाउन लामो समयसम्म कठोर तपस्या गरेका थिए । भगवतीले उनको भक्तिबाट प्रसन्न भई पुत्रीका रूपमा जन्म लिएकाले यिनको नाम ‘कात्यायनी’ पर्न गएको हो ।
अर्को पौराणिक प्रसङ्गअनुसार, ब्रह्माजीबाट पुरुष, देव वा दैत्य कसैबाट पनि मारिनु नपरोस् भनी वरदान पाएका महिषासुरको आतङ्कले त्रिलोक आक्रान्त बनेपछि ब्रह्मा, विष्णु र महेश (शिव) को तेजबाट देवी प्रकट भएकी थिइन् । महर्षि कात्यायनले सर्वप्रथम यिनको पूजा गरेका कारण पनि यिनलाई कात्यायनी भनिएको हो ।
आश्विन कृष्ण चतुर्दशीका दिन प्रकट भएकी देवीले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमी गरी तीन दिन कात्यायन ऋषिद्वारा पूजा ग्रहण गरी विजयादशमीका दिन महिषासुरको वध गरेकी थिइन् । द्वापरयुगमा ब्रजका गोपिनीहरूले भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन यिनै कात्यायनी देवीको पूजा यमुना किनारमा गरेको सन्दर्भ पनि पुराणहरूमा उल्लेख छ ।
स्वर्णसमान चम्किलो वर्ण भएकी कात्यायनी देवी चतुर्भुज (चार हात भएकी) स्वरूपकी छिन्। यिनको दाहिनेतर्फका हातहरू अभय र वरमुद्रामा छन् भने देब्रे हातहरूमा तरबार र कमलको पुष्प सुशोभित छ। यिनको वाहन सिंह हो ।
आजको दिन बिहानै ब्रह्ममुहूर्तमा उठेर शुद्ध वस्त्र (विशेष गरी रातो) धारण गरी पूजा स्थल सफा गरेर दियो, कलश र गणेशको पूजापश्चात् कात्यायनी देवीको आह्वान गरिन्छ । देवीलाई रातो फूल, चन्दन, सिन्दूर, बेलपत्र, पञ्चामृत र नैवेद्य अर्पण गरी ‘ॐ देवी कात्यायन्यै नमः’ मन्त्रको जप तथा आरती गरिन्छ। नवरात्रको छैटौँ दिन साँझपख बेलको फेदमा बसेर जागरण गर्नु थप फलदायी मानिन्छ ।
बडादसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली तथा उपत्यका बाहिरका प्रमुख शक्तिपीठ एवं दसैँघरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ ।
