काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज (बुधबार) घर-घरका पूजा कोठा तथा दसैँघरहरूमा नवदुर्गामध्येकी चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा-आराधना गरिँदै छ ।
शास्त्रअनुसार आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विशेष अनुष्ठान गर्ने परम्परा छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन प्रकारका तापलाई ‘कुष्मा’ भनिन्छ ।
आफ्नो शरणमा आएका भक्तजनका यी तीनै ताप (दुःखरकष्ट) लाई हरण गरी ब्रह्माण्डलाई उत्पन्न गर्ने शक्ति भएकाले यी देवीलाई ‘कुष्माण्डा’ भनिएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ । देवी कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने शास्त्रीय मान्यता छ ।
दुर्गा सप्तशती (चण्डी) को देवी कवचअनुसार त्रिविध तापयुक्त संसार जसको उदर (पेट) मा समाहित छ, उनै भगवती कुष्माण्डा हुन् । कुष्माण्डा देवीको निष्ठापूर्वक पूजा-आराधना र ध्यान गर्नाले सुख, शान्ति, ऐश्वर्य, विद्या र आरोग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
गत असोज २५ गते आइतबार घटस्थापना गरी जौको जमरा राखिएसँगै सुरु भएको नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा-आराधना गरिएको थियो । चौथो दिन आज कुष्माण्डा देवीको आह्वान गरी विशेष पूजा गरिँदै छ।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठ-पारायण गर्ने गरिन्छ ।
दसैँको चौथो दिन आज काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, बज्रयोगिनी, विजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाईलगायत प्रमुख मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको ठुलो घुइँचो लागेको छ ।
त्यस्तै, उपत्यका बाहिरका प्रसिद्ध शक्तिपीठहरू— काभ्रेको पलाञ्चोक भगवती, नाला भगवती, गोरखाको मनकामना, चितवनको इच्छाकामना, धनुषाको छिन्नमस्ता, बाराको गढीमाई, पर्साको प्रसिद्ध गहवामाई (वीरगञ्ज), बागलुङ कालिका, कास्कीको विन्ध्यवासिनी तथा तालबाराही लगायतका देवी मन्दिरहरूमा पनि पूजा-अर्चना र दर्शन गर्ने भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ ।
