काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) बन्दसत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचनका प्रारम्भिक प्रक्रियाहरू औपचारिक रूपमा सुरु हुँदै छन् ।
आइतबार ऐतिहासिक टुँडिखेल खुलामञ्चमा भव्य रूपमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९:०० बजेदेखि बन्दसत्र सुरु हुन लागेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
आजको बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले सांगठनिक तथा राजनीतिक प्रतिवेदन र उपसभापति विश्वप्रकाश शर्माले समसामयिक नीतिगत प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।
यसैबिच, महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको स्वीकृत कार्यतालिका अनुसार आजै साँझदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्बन्धी प्रारम्भिक प्रक्रियाहरू अघि बढाउने तयारी पूरा भएको छ ।
निर्वाचन समितिका अनुसार आज बेलुका ५:०० बजे मतदाता नामावली आधिकारिक रूपमा प्रकाशन गरिनेछ । सोही प्रकाशित नामावलीउपर कसैको दाबी वा विरोध रहेमा बेलुका ६:३० बजेसम्म दाबी-विरोध दर्ता गराउने समय निर्धारण गरिएको छ ।
प्राप्त दाबी-विरोधहरूमाथि निर्वाचन समितिले बेलुका ७:३० बजेसम्म आवश्यक जाँचबुझ, छानबिन र संशोधन गर्नेछ । तत्पश्चात् दाबी-विरोधको सम्पूर्ण कानुनी प्रक्रिया टुङ्ग्याएर समितिले आजै बेलुका ८:३० बजे महाधिवेशन प्रतिनिधि (मतदाता) हरूको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
अन्तिम नामावली प्रकाशन भएसँगै भोलिदेखि मनोनयन दर्ता लगायतका प्रत्यक्ष निर्वाचनका कार्यक्रमहरू अघि बढ्ने निर्वाचन समितिले स्पष्ट पारेको छ ।
