वीरगंज,११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणसँग आफ्नो नाम जोडेर समाचार प्रकाशित भएको भन्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आपत्ति जनाएका छन् ।
महानगर प्रमुख सिंहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै अनलाइनखबर डटकमले २०८३ असोज १० गते प्रकाशित गरेको समाचार तथा सोही समाचारलाई आधार बनाएर अन्य सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा जबराको पक्राउको कारणसँग आफू असम्बन्धित रहेको दाबी गर्दै असम्बन्धित व्यक्तिलाई घटनासँग जोडेर विवादमा तान्ने र सार्वजनिक प्रतिष्ठामा असर पार्ने कार्य उचित नभएको उल्लेख गरिएको छ ।
सिंहको सचिवालयले प्रेस स्वतन्त्रताको सम्मान गर्ने उल्लेख गर्दै समाचार प्रकाशनमा सत्यता, सन्तुलन, जिम्मेवारी र तथ्यपरकता पनि पत्रकारिताका अनिवार्य आधार भएको जनाएको छ। समाचार प्रकाशन गर्नुअघि तथ्यको पूर्ण पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रहसमेत गरिएको छ ।
विज्ञप्तिमा सिंह नगर प्रमुखमा निर्वाचित हुनुअघि नेपाल सरकारको सेवाग्राहीका रूपमा नागरिकतासम्बन्धी सेवा लिएको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई भ्रष्टाचार मुद्दा दायर गरेको दाबी गरिएको छ।
उक्त विषयमा पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा विशेष अदालतमा समेत अभियोग दायर गरिएको भन्दै दोहोरो कारबाहीको सिद्धान्तविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतले रिट खारेज गरेपछि न्यायिक प्रक्रियालाई सम्मान गर्दै विशेष अदालतको प्रक्रिया अघि बढाएको र पछि विशेष अदालतबाट सफाइ पाएपछि सिंह महानगरवासीको सेवामा फर्किएको विज्ञप्तिमा जनाइएको छ।
यही न्यायिक प्रक्रियाबाट टुंगिएको विषयलाई जबराको पक्राउ प्रकरणसँग जोडेर प्रस्तुत गर्नु तथ्य र सन्दर्भलाई विकृत गर्ने प्रयास भएको सिंहको सचिवालयको दाबी छ।
विज्ञप्तिमार्फत सम्बन्धित सञ्चारमाध्यमलाई प्रकाशित सामग्रीबारे आवश्यक खण्डन तथा यथोचित सम्बोधन गर्न आग्रह गरिएको छ। अन्यथा प्रचलित कानुन तथा पत्रकारिता आचारसंहिताअनुसार प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित निकायमा कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिइएको छ।
