चितवन । निरन्तरको अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ सिर्पाली चोक नजिकै धरान–चतरा सडक खण्डमा बिजुलीका १० वटा पोलहरू ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
असोज ११ गते बिहान करिब ६ बजे लगातारको वर्षाले जमिन गलेर सडक किनारमा रहेका सिमेन्टका पोलहरू एकपछि अर्को गर्दै सडकतिर उक्किएर ढलेका हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिर्पाली चोकबाट करिब ५०० मिटरको दूरीमा लहरै बिजुलीका पोलहरू सडकमा थुप्रिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले कुनै सम्भावित दुर्घटना हुन नदिन सुरक्षा सतर्कता अपनाउँदै नेपाल विद्युत प्राधिकरण हेटौँडासँग समन्वय गरेको थियो । प्राधिकरणको प्राविधिक टोली घटनास्थल पुगेर लाइन काट्नुका साथै सडकमा जेलिएका र छरिएका विद्युतका तारहरू काटेर हटाउने काम गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेले सडकमा छरिएका तारहरू हटाइसकिएको र ढलेका पोलहरूलाई पन्छाएर छिटोभन्दा छिटो सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए । मुख्य राजमार्ग अवरुद्ध हुँदा धरान-चतरा सडक खण्ड भई चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू बिहानैदेखि बीच बाटोमै रोकिएका छन् ।
