काठमाडौं । काठमाडौंको बसन्तपुरमा आज बिहान इन्द्रध्वजासहितको यःसिं अर्थात लिंगो ठड्याएसँगै इन्द्रजात्रा शुरू भएको छ । बिहान ७ बजेर ४७ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गरी काठमाडौं उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा आज देखि शुरू भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ ।
हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया अर्थात इन्द्रजात्रा आउँदो असोज १३ गतेसम्म चल्नेछ । इन्द्रजात्रा अन्तर्गत पर्सि असोज ९ गते कुमारी रथ यात्रा अन्तर्गत तल्लो टोलयात्रा प्रारम्भ हुनेछ भने १० गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ ।
असोज १३ गते मंगलबार नानिचा यात्रा हुन्छ । त्यसै दिन राति ९ बजेर २५ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि इन्द्रजात्रा सकिन्छ । आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्नेलगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच जस्ता धार्मिक गतिविधि हुने गर्छन् ।
