काठमाडौं । नेपालमा यही असोज ८ देखि १२ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले चेतावनी दिएका छन् । बंगालको खाडीमा विकसित भइरहेको नयाँ मौसमी प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच हुन सक्ने अन्तरक्रियाका कारण नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिने र यसले विशेषगरी सुदूरपश्चिम र मध्य नेपालमा ठूलो प्रभाव पार्ने आकलन गरिएको छ ।
विज्ञहरूका अनुसार केही क्षेत्रमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने देखिएकाले बाढी, पहिरो र डुबानको उच्च जोखिम रहनेसक्छ ।
हाल अन्डमन सागर आसपास बनेको न्यूनचापीय क्षेत्र र उत्तरपश्चिमबाट आउने सुक्खा हावाको प्रभावका कारण यो प्रणाली नेपालतर्फ केन्द्रित हुने सम्भावना बढेको छ ।
पछिल्ला केही वर्षयता असोज महिनामै ठूला प्राकृतिक प्रकोपहरू निम्तिने गरेकाले यसपटक पनि सोही प्रकारको जोखिम दोहोरिन सक्ने देखिएको छ ।
त्यसैले, मौसम पूर्वानुमान महाशाखा र विज्ञहरूले सम्भावित जनधनको क्षति जोगाउन मौसमसम्बन्धी नियमित जानकारी लिँदै उच्च सतर्कता अपनाउन सबैमा विशेष आग्रह गरेका छन् ।
