सिमरा, ६ भदौ। बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुवालाई गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न शनिबार काठमाडौं लगिएको छ।
गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्तासहितको टोलीले शनिबार अपराह्न सिमरा विमानस्थलबाट काठमाडौं लगेको हो। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले उनीहरूलाई आन्दोलनस्थलबाट प्रहरीको गाडीमा विमानस्थल पुर्याएका थिए।
आमाबुवासँगै स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्कीलगायत सात जनाको टोली काठमाडौं गएको छ। टोलीले गृहमन्त्रीसँग भेट गरी गरिमाको मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान र न्यायका विषयमा छलफल गर्ने जनाएको छ।
काठमाडौं प्रस्थान गर्नुअघि गरिमाका बुवा मनोज चौधरीले स्थानीयवासीलाई छोरीको न्यायका लागि आन्दोलन जारी राख्न आग्रह गरेका थिए।
यता, आमाबुवालाई गोप्य रूपमा काठमाडौं लगिएको भन्दै स्थानीयले सिमरा विमानस्थल अगाडि प्रहरीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने माग दोहोर्याएका छन्।
गरिमा चौधरीको मृत्युको घटनालाई लिएर सिमरामा केही दिनदेखि स्थानीयवासीले प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीले निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग गर्दै सडक आन्दोलन जारी राखेका छन्।
