वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा ट्याक्टर बरामद गरेको छ । प्रहरीका अनुसार आइतबार राति जगरनाथपुर गाउँपालिका–४ स्थित सडकबाट २१२ किलो गाँजासहित मे १ त ५७१४ नम्बरको सोनालिका ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजान लागिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले सोनवर्षाबाट गाँजा बोकेको ट्याक्टरलाई पछ्याउँदै जगरनाथपुरतर्फ आएको थियो । राति करिब ११ः३० बजे जगरनाथपुर गाउँपालिका–४ मा प्रहरी टोलीलाई देखेपछि चालक तथा गाँजा तस्करीमा संलग्न व्यक्तिहरू ट्याक्टर छाडेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको थियो । बरामद गाँजा र ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी कार्यालयमा राखिएको छ । फरार चालक तथा तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
