काठमाडौं । सेवा शुल्क परिमार्जनलगायत १५ बुँदे माग अघि सार्दै वैदेशिक रोजगार व्यवसायीहरूले भदौ १ गते आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य ठप्प पार्ने र म्यानपावर कार्यालयहरू बन्द गर्ने घोषणा गरेका छन् ।
सरकारलाई दिइएको अल्टिमेटमभित्र माग सम्बोधन नभएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम अघि बढाएको हो । संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि देशभरका म्यानपावर व्यवसायीले कार्यालयमा ताला लगाउनेछन् ।
गत साउन ७ गते विशेष भेलामार्फत संघले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट म्यानपावर व्यवसायीले पाउने सेवा शुल्क परिमार्जन (एक महिनाको तलब बराबर) हुनुपर्ने मुख्य बटमलाइनसहित १५ बुँदे माग सरकारसमक्ष पेस गरेको थियो । यसका साथै वैदेशिक रोजगार विभागले गरेका कारबाही फिर्ता लिनुपर्नेलगायतका मागसमेत व्यवसायीहरूले राखेका छन् ।
यसैबिच, आन्दोलनसँगै सरकार र व्यवसायीबिचको संवाद पनि जारी छ। युवा, श्रम तथा रोजगार मन्त्रालय र व्यवसायीबिच शुक्रबार पहिलो चरणको ‘क्लाइमेट सेटिङ’ छलफल भएको थियो ।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले वार्ता सकारात्मक दिशामा अघि बढेको र सोमबार बिहान ११ बजे बस्ने बैठकले ठोस निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे । तर, व्यवसायीहरूले भने वार्ता जारी रहे तापनि माग पूरा नभएसम्म म्यानपावरका सम्पूर्ण कामकाज स्थगित रहने अडान दोहोर्याएका छन् । व्यवसायीको यो कदमका कारण वैदेशिक रोजगारीको अन्तिम प्रक्रियामा रहेका हजारौँ श्रमिक प्रभावित हुने जोखिम बढेको छ ।
