काठमाडौं । आकर्षक तलब र सहजै विदेश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न देश पठाउने नाममा रकम असुल गरी सम्पर्कविहीन भएका तीन बिचौलियालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सिरहा घर भई ललितपुर–१ बस्ने ४३ वर्षीय हर्षनारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ–३२ बस्ने ४१ वर्षीय पदमबहादुर खड्का क्षेत्री र सप्तरी घर भई कागेश्वरी मनोहरा–४ बस्ने ४८ वर्षीय शिवनारायण चौधरी रहेका छन् ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार हर्षनारायणले इजरायल पठाउने भन्दै ५ लाख, पदमबहादुरले अमेरिका पठाउने नाममा ३ लाख १० हजार र शिवनारायणले अजरबैजान पठाउने बहानामा २२ लाख ४६ हजार रुपैयाँ ठगी गरेको पीडितहरूको उजुरीमा उल्लेख छ ।
रकम बुझेपछि अभियुक्तहरू सम्पर्कविहीन भएपछि पीडितहरू न्यायका लागि प्रहरीकहाँ पुगेका थिए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीका नाममा प्रलोभनमा पारी ठगी गर्ने गिरोह सक्रिय भएकाले कुनै पनि व्यक्ति वा संस्थाको आधिकारिकता राम्ररी जाँचबुझ गरेर मात्र आर्थिक कारोबार गर्न प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ ।
