चितवन । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा गएराति रूखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्ड दुवैतर्फी पूर्णरूपमा अवरुद्ध भएको छ । राति करिब १०:२५ बजे पहाडमाथिबाट लेदो र रूखसहित खसेको पहिरोका कारण देशकै मुख्य राजमार्गमा सवारी आवागमन ठप्प बनेको हो ।
सडकमा थुप्रिएको ठूलो पहिरो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याउन तीव्र गतिमा काम भइरहेको छ । चितवन प्रहरीका अनुसार अहिले घट्नास्थलमा ५ वटा हेभी उपकरण (डोजर तथा एक्स्कभेटर) प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको भए पनि सडक सहज हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।
सम्भावित जोखिम र यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले अर्को सूचना जारी नभएसम्मका लागि काठमाडौंबाट नारायणगढतर्फ आउने र नारायणगढबाट काठमाडौँ जाने सबै प्रकारका सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाएको छ। राजमार्ग ठप्प हुँदा हजारौँ यात्री तथा मालवाहक सवारीसाधन बीच बाटोमै थपिएका छन् । प्रहरीले अत्यावश्यक बाहेकका यात्रा नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न यात्रु तथा चालकहरूलाई आग्रह गरेको छ ।
