काठमाडौं । नेपाली तीर्थयात्री सवार बस भारतको झारखण्डमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा करिब ५० जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकीनाथको दर्शन तथा पूजा गरेर नेपाल फर्कने क्रममा झारखण्डको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै बस दुर्घटनामा परेको हो।
बस र ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ। दुर्घटनामा मृत्यु हुने तीन जनामध्ये एक जना १२ वर्षीय बालक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अन्य दुई मृतकको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।
दुर्घटनामा करिब ५० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
दुर्घटनामा घाइते तथा मृतकको थप विवरण संकलन भइरहेको छ। घटनाबारे भारतीय स्थानीय प्रशासन तथा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
