वीरगञ्ज । पर्साको वीरगञ्जमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ता मारमा परेका छन्। ग्यास सिलिन्डर लिन बिहानैदेखि डिलरको गोदाममा लामो लाइन लागे पनि घण्टौंसम्म पालो कुर्दा समेत धेरै उपभोक्ता ग्यास नपाई खाली हात फर्किन बाध्य भएका छन्।
स्थानीय डिलरहरूका अनुसार पछिल्ला केही सातादेखि ग्यासको आपूर्ति मागअनुसार हुन नसक्दा उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउन कठिनाइ भइरहेको छ। सीमित परिमाणमा मात्र ग्यास आइरहेकाले सबै उपभोक्ताको माग पूरा गर्न नसकिएको उनीहरूको भनाइ छ।
ग्यास अभावका कारण दैनिक खाना पकाउन समस्या भएको भन्दै उपभोक्ताले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न उनीहरूले माग गरेका छन्।
यता, नेपाल आयल निगमले भने बजारमा खाना पकाउने एलपी ग्यासको पर्याप्त आपूर्ति रहेको दाबी गर्दै आएको छ। तर निगमको दाबी र वीरगञ्जको बजारमा देखिएको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको भन्दै उपभोक्ताले प्रश्न उठाएका छन्।
“यदि ग्यास पर्याप्त छ भने उपभोक्ताले किन घण्टौं लाइन बस्नुपरेको छरु ग्यास कहाँ गइरहेको छरु” भन्ने प्रश्न अहिले सर्वसाधारणको चासोको विषय बनेको छ।
उपभोक्ता तथा स्थानीय व्यवसायीहरूले ग्यासको आपूर्ति प्रणाली, वितरण प्रक्रिया तथा सम्भावित कालोबजारीबारे निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। कृत्रिम अभाव सिर्जना भएको हो वा आपूर्ति व्यवस्थापनमै समस्या छ भन्ने विषयमा स्पष्ट जानकारी दिनुपर्ने उनीहरूको भनाइ छ।
