१४ साउन,वीरगञ्ज । जनकपुरधाममा उत्पन्न तनावपूर्ण अवस्था नियन्त्रणबाहिर जान सक्ने आकलनपछि जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जनकपुरधामका तोकिएका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरिएको हो। प्रशासनका अनुसार कर्फ्यु आदेश आज दिउँसो ३ बजेर ३० मिनेटदेखि लागू हुनेछ।
जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना हुन नदिन कर्फ्यु जारी गरिएको जनाएको छ। कर्फ्यु अवधिमा तोकिएको क्षेत्रमा सर्वसाधारणको आवतजावत तथा गतिविधिमा रोक लगाइनेछ।
प्रशासनले कर्फ्यु लागू हुने क्षेत्र, अवधि तथा अन्य आवश्यक विवरण औपचारिक सूचनामार्फत सार्वजनिक गर्ने जनाएको छ।
यसअघि जनकपुरधाममा उत्पन्न तनावका कारण सुरक्षा सतर्कता बढाइएको थियो। कर्फ्यु आदेशसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ।
