काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको रिक्त प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट खुला प्रतिस्पर्धात्मक माध्यमद्वारा आवेदन माग गरेको हो ।
‘सार्वजनिक(निजी साझेदारी तथा लगानी ऐन, २०७५’ को कानुनी व्यवस्था बमोजिम देशको ठूला पूर्वाधार र वैदेशिक लगानी भित्र्याउने प्रमुख निकायको नेतृत्वका लागि यो दरखास्त आह्वान गरिएको हो ।
सूचना अनुसार यस गरिमामय पदका लागि उच्च शैक्षिक योग्यता र विशिष्टीकृत कार्यअनुभवलाई अनिवार्य सर्त बनाइएको छ । आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
शैक्षिक योग्यताका साथै सम्बन्धित क्षेत्रमा नेतृत्वदायी क्षमता प्रमाणित गर्न उम्मेदवारसँग परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक(निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय तहको अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ ।
सिफारिस समितिले आवेदनका लागि उमेरको हदबन्दी समेत तय गरेको छ । जसअनुसार निवेदन दिने अन्तिम मितिसम्म आवेदकको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । बोर्डलाई रणनीतिक नेतृत्व दिन सक्ने व्यावसायिक व्यक्तिको पहिचानका लागि इच्छुक उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक प्रमाणपत्र र कार्यअनुभव खुलाउने कागजातका साथमा बोर्ड सञ्चालन सम्बन्धी एक विशेष ‘रणनीति र कार्ययोजना’ समेत पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।
यो आकर्षक एवं चुनौतीपूर्ण पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्ना आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । आवेदन फारम तथा रणनीति सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखामा बुझाउनुपर्ने समितिले जनाएको छ ।
