वीरगञ्ज । वीरगञ्जका चर्चित फुटबल खेलाडी तथा लोकप्रिय गायक अशोक प्रधानलाई ‘रिलिफ उसोसाइटी अफ कमर्स पुरस्कार २०८३’ प्रदान गरी सम्मान गरिएको छ।
रिलिफ सोसाइटी अफ कमर्सले वीरगञ्ज, मधेश प्रदेश तथा राष्ट्रिय स्तरमा खेलकुद र संगीत क्षेत्रमार्फत पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रधानलाई उक्त सम्मान प्रदान गरेको जनाएको छ।
समाजसेवी अशोक लाठका अनुसार खेल तथा सांगीतिक क्षेत्रको प्रवर्द्धनमा प्रधानले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई पुरस्कृत गरिएको हो।
सोसाइटीको ३५औँ स्थापना दिवस तथा बुद्ध जयन्तीको अवसरमा प्रदान गरिने उक्त पुरस्कार विशेष कारणवश आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो।
वीरगञ्जस्थित सोसाइटीको कार्यालयमा सम्पन्न कार्यक्रममा अध्यक्ष योगेन्द्र प्रसाद यादव, निवर्तमान अध्यक्ष अशोक लाठ, गणेश लाठ, नारायण रुङ्टा तथा निरज अग्रवालको उपस्थितिमा प्रधानलाई सम्मान गरिएको हो।
सम्मान ग्रहण गर्दै अशोक प्रधानले रिलिफ सोसाइटी अफ कमर्सले समाजका विपन्न, असहाय तथा पछाडि परेका वर्ग र समुदायको सेवामा निरन्तर सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।
विभिन्न क्षेत्रका प्रतिभावान व्यक्तित्वलाई सम्मान गरी उनीहरूलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने संस्थाको कार्य प्रशंसनीय रहेको बताउँदै उनले सम्पूर्ण रिलिफ सोसाइटी परिवारप्रति हार्दिक आभार व्यक्त गरे।
वीरगञ्जको पहिचानलाई खेलकुद र संगीतमार्फत देश तथा विदेशसम्म पुर्याउन सफल अशोक प्रधानलाई गरिएको यो सम्मानले अन्य स्रष्टा र खेलाडीलाई समेत थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
