वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशनका क्रममा शनिबार वीरगञ्जमा कार्यकर्ताहरूबीच विवाद र कुटाकुट भएपछि स्थगित गरिएको निर्वाचन प्रक्रिया आज (आइतबार) दिउँसोदेखि पुनः सुरु हुने भएको छ ।
नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबीच मारपिट भएपछि कूटनीतिक रूपमा स्थिति नियन्त्रणमा लिन निर्वाचन कमिटीले हिजोका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्नुपरेको थियो ।
रास्वपा निर्वाचन कार्यालय, पर्साका निर्वाचन संयोजक डा. नन्दन यादवले आज एक आधिकारिक विज्ञप्ति जारी गर्दै स्थगित गरिएको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू आजै दिउँसो ३ बजेदेखि पुनः सञ्चालन गरिने जानकारी दिएका छन् ।
निर्वाचन संयोजक डा। यादवका अनुसार पहिलो जिल्ला अधिवेशनको थाती रहेको निर्वाचन प्रक्रिया वीरगञ्जस्थित ‘क्लासिक ब्याङ्क्वेट’ मा सम्पन्न गर्ने गरी सबै तयारी पूरा गरिएको छ ।
हिजोको अप्रिय घटनापछि आज दिउँसो ३ बजेदेखि निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यसूचीहरू शान्तिपूर्ण र मर्यादित वातावरणमा अघि बढाउन दलका स्थानीय नेता तथा केन्द्रीय प्रतिनिधिहरूले संयुक्त गृहकार्य गरेका छन् ।
