काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुधबार काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन सम्बन्धी अदालतमा विचाराधीन मुद्दाको सिलसिलामा उनी बबरमहलस्थित अदालत पुगेका हुन् । लामिछानेले आफू विरुद्ध दर्ता भएको उक्त मुद्दामा कानुनी प्रक्रिया अनुसार आजको तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले पुष्टि गरेका छन् ।
अदालत प्रशासनका अनुसार आजको प्रक्रिया सकिएपछि लामिछानेका लागि आगामी असार ११ गतेका लागि अर्को तारेख तोकिएको छ । काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा पुर्याएर अपचलन गरेको आरोपमा लामिछाने विरुद्ध मुद्दा दायर भएको थियो ।
यसअघि अदालतले सोही मुद्दाको थुनछेक बहसपछि उनलाई ६० लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा गर्न आदेश दिएको थियो । सोही आदेश अनुरूप उनी नियमित रूपमा अदालतमा उपस्थित भई तारेख धान्दै आएका हुन् ।



