बझाङ । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचनमा मध्यान्हसम्म २० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख मानबहादुर धामीका अनुसार बझाङमा अहिलेसम्म २० प्रतिशत मत खसेको हो । बिहान ७ बजेदेखि नै सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
बिहानैदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाता कम उपस्थित भएको मतदान अधिकृतहरुले जनाएका छन् । बिहान गर्मी कम हुने हुँदा मतदाताहरु काममा गएको दिउँसोतिर आउने उनीहरू बताउँछन्। हालसम्म हरेक मतदान केन्द्रमा १५० देखि ३०० सम्म मत खसेको देखिएको छ ।
निर्वाचन आयोगका अनुसार बझाङ १ ९१० मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये २७ केन्द्र सामान्य, २४ संवेदनशील र २३ अतिसंवेदनशील छन् ।
आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बझाङ १९१०मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। नेकपा माओवादीका उम्मेदवार जनक बहादुर बुढाले छबिसपाथिभेरा- ६ बाठपाली मावि मतदान स्थलमा मतदान गरेका छन्।
यस्तै, इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए । विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले अनलाइनखबलाई बताए । उनले भने, ‘कुनैमा १८/२० त कुनैमा २२/२४ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।’
इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ । इलाम-२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।



