२९ बैशाख, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
बोर्ड स्रोतका अनुसार सबै प्राविधिक कार्यहरू सम्पन्न गरी आज साँझसम्म नतिजा बाहिर ल्याउने लक्ष्य राखिएको हो । नतिजा प्रकाशनको औपचारिक निर्णय गर्न आज साँझ ५ बजेका लागि बोर्ड बैठक समेत बोलाइएको छ ।
परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिक गर्ने विषयमा आन्तरिक छलफल र तयारी भइरहेको पुष्टि गर्नुभएको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा यसपटक विगतका वर्षहरूको तुलनामा छिटो सार्वजनिक हुन लागेको हो । यस वर्ष पहिलोपटक परीक्षा केन्द्रहरूमै उत्तरपुस्तिका परीक्षण गरिएकाले पनि नतिजा तयारीमा कम समय लागेको बोर्डले जनाएको छ ।
यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ परीक्षार्थी सहभागी छन् ।
बोर्ड बैठकले नतिजा प्रमाणीकरण गरेलगत्तै वेबसाइट, एसएमएस र आईभीआरमार्फत नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डले प्राविधिक त्रुटि नहोस् भन्नका लागि अन्तिम समयसम्म तथ्याङ्कहरूको सूक्ष्म परीक्षण गरिरहेको छ ।



