२८ बैशाख, काठमाडौँ । मोरङको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध भारतीय रुपैयाँ बरामद गरेको छ ।
रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा २० लाख भारतीय रुपैयाँ फेला पारेको हो । गएराति भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेर रोक्न खोज्दा मोटरसाइकलको पछाडि सवार युवक आफूले बोकेको झोला फालेर फरार भएका थिए ।
सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले उक्त झोला खोलेर हेर्दा ५ सय दरका ४० वटा बन्डलमा राखिएको २० लाख भारतीय रुपैयाँ फेला पारेको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार फरार युवकको पहिचान खुल्न सकेको छैन भने उनको खोजी कार्य जारी छ ।
बरामद गरिएको उक्त रकमलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग वा सम्बन्धित निकायमा बुझाउने प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा अवैध मुद्राको ओसारपसार नियन्त्रण गर्न सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।



