वीरगञ्ज । वीरगञ्जमा विकास योजनासम्बन्धी विवादका क्रममा सरकारी कार्यालयको बोर्डमा मोबिल छर्केर दुर्व्यवहार गर्ने दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–२३ स्थित पूर्वाधार विकास कार्यालय पर्साको प्राङ्गणमा कर्मचारीमाथि अभद्र व्यवहार गर्दै कार्यालयको बोर्डमा मोबिल छर्किने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाको विवरणअनुसार, पक्राउ परेका व्यक्तिहरूले पूर्वाधार विकास कार्यालयका कर्मचारी रामप्रवेश यादवसँग कुनै विकास योजनाको विषयलाई लिएर बहस गरेका थिए ।
विवादकै क्रममा उनीहरूले आक्रोशित हुँदै कार्यालयको बोर्डमा मोबिल छर्केर फरार भएका थिए । कार्यालय प्रमुखले दिउँसो करिब २:३० बजे वडा प्रहरी कार्यालय श्रीपुरलाई टेलिफोनमार्फत घटनाको जानकारी गराएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरीको सक्रियतामा घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज–११ बस्ने ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वीरगञ्ज–१३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ ।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए । “सरकारी कार्यालयको मर्यादा र सामाग्रीमाथि भएको यस्तो अवाञ्छित दुर्व्यवहार कानुनतः दण्डनीय छ । विवादको यथार्थ के हो र उनीहरूको नियत के थियो भन्ने विषयमा हामी विस्तृत अनुसन्धान गर्दैछौँ,” प्रवक्ता कार्कीले भने ।
पछिल्लो समय सरकारी कार्यालयमा कर्मचारी र सेवाग्राही वा अन्य पक्षबीच विकास निर्माणका योजनालाई लिएर हुने विवादहरू बढ्दै गएका छन् । पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्किएर गरिएको यो ‘सांकेतिक प्रदर्शन’ लाई प्रशासनले गम्भीरताका साथ लिएको छ । घटनामा संलग्नहरूमाथि कानुनबमोजिम कडा कारबाही हुने प्रहरीले जनाएको छ ।



