बैशाख २१, काठमाडौं । अविरल वर्षाका कारण सम्भावित प्राकृतिक विपत्ति र जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
सोमबार दिउँसोदेखि काभ्रेका विभिन्न स्थानमा अत्यधिक वर्षा हुन थालेपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेले सुरक्षा सतर्कता अपनाउँदै यो निर्णय लिएको हो । सडकको भौगोलिक अवस्था र प्रतिकुल मौसमका कारण यात्रा गर्दा हुनसक्ने मानवीय क्षतिलाई रोक्न तत्कालका लागि गाडी चल्न रोक लगाइएको प्रहरीको भनाइ छ ।
मौसममा सुधार नआएसम्म यो सडक खण्ड बन्द रहने भएकाले यात्रुहरूलाई सुरक्षित स्थानमा रहन र मौसम सफा भएपछि मात्र यात्रा तय गर्न प्रशासनले विशेष आग्रह गरेको छ ।



