१६ वैशाख,वीरगञ्ज । बदलिँदो मौसमसँगै बढ्दो हावाहुरी, आगलागी र चट्याङका घटनाले विद्युत वितरण प्रणालीमा चुनौती थपिएको भन्दै नेपाल विद्युत प्राधिकरण अन्तर्गत कलैया वितरण केन्द्रले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
केन्द्रले जारी गरेको सार्वजनिक अपीलमा प्रतिकूल अवस्थामा पनि निरन्तर विद्युत सेवा सुचारु राख्न प्रतिबद्ध रहेको जनाउँदै सम्भावित जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन उपभोक्तालाई अनुरोध गरिएको छ।
अपीलमा विद्युतीय संरचना जस्तै पोल, ट्रान्सफर्मर र स्टे–वायर नजिक फोहोर वा झारपात नजलाउन भनिएको छ। जङ्गल वा घर वरपर लाग्ने डढेलोले विद्युत आपूर्ति अवरुद्ध पार्नुका साथै ठूलो दुर्घटना निम्त्याउन सक्ने जोखिम औँल्याइएको छ।
त्यस्तै, हावाहुरीका कारण चुँडिएका तार वा ढलेका पोल नछुन र यस्ता घटनाको तुरुन्त जानकारी सम्बन्धित निकायलाई दिन आग्रह गरिएको छ। चट्याङ परेको समयमा टेलिभिजन, फ्रिज, कम्प्युटरजस्ता संवेदनशील उपकरणहरूको प्लग निकालेर राख्न सुझाव दिइएको छ।
विद्युत लाइन नजिक रहेका रुखका हाँगाबिगाले सर्ट सर्किट भई आगलागी हुन सक्ने भएकाले यस्ता जोखिम देखिएमा तत्काल प्राधिकरणलाई जानकारी गराउन र लाइन वरपर रुखविरुवा नबढ्न दिन पनि अनुरोध गरिएको छ।
प्राविधिक कारणले विद्युत सेवा अवरुद्ध भएमा केही समय धैर्य राख्न र मर्मत कार्यमा खटिएका कर्मचारीलाई सहयोग गर्न पनि प्राधिकरणले अपिल गरेको छ।
कलैया वितरण केन्द्रले प्राकृतिक विपद्का बेला सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सबै उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



