१६ बैशाख, वीरगञ्ज । देशको कृषि उत्पादनको मुख्य आधार मानिने बारा र पर्साका किसान यतिबेला चरम मल अभावको मारमा छन् । चैते धान, मकै र उखुबाली स्याहार्ने र मल छर्ने मुख्य सिजनमै बजारमा रसायनिक मलको चरम अभाव देखिएपछि किसानहरूको पसिना र मेहनत खेर जाने चिन्ता बढेको छ ।
पर्साका १४ र बाराका १६ वटै पालिकाका किसानहरू एक महिनादेखि मलको खोजीमा भौंतारिरहेका छन् । बालीको वृद्धिका लागि अत्यावश्यक युरिया, डीएपी र पोटास बजारमा सहज नहुँदा उनीहरूको दैनिकी खेतभन्दा पसलको ढोकामा बित्न थालेको छ । “मल हाल्ने समय घर्किने बेला भयो, तर सहकारी र पसलमा मलको नामोनिसान छैन,” स्थानीय किसानहरू गुनासो गर्छन् ।
कलैया उपमहानगरपालिका–१७ का किसान श्रीराम साहको पीडा सबै किसानको साझा समस्या बनेको छ । हरेक वर्ष खेतीको सिजन आउनुअघि नै मल अभावको हल्ला चल्ने र किसानले सास्ती खेप्नुपर्ने नियति बदलिएको छैन । “बाली लगाउने बेला मल पाइँदैन, ढिलो गरी मल पाइए पनि त्यसले बिरुवालाई खासै फाइदा गर्दैन,” साह भन्छन्, “सरकारले समयमा मलको व्यवस्थापन गर्न नसक्दा खेती नै धरापमा परेको छ।”
पछिल्ला वर्षहरूमा सिँचाइ सुविधा विस्तार र नगदेबालीप्रतिको आकर्षणले बारा–पर्साका किसानहरू आधुनिक र व्यावसायिक खेतीतर्फ उन्मुख भएका थिए। तर, मलको अनिश्चित आपूर्तिको कारण उनीहरूको उत्साहमा पूर्णविराम लागेको छ।
सरकारी अनुदानको मल समयमै नपाउँदा किसानहरू निजी बजारबाट महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन् । यसले सानो स्तरका किसानहरूको उत्पादन लागत अस्वाभाविक रूपमा बढाएको छ । सरकारी संयन्त्रले समयमा मल पुर्याउन नसक्दा नेपाली किसानहरू भारतीय मलमा निर्भर हुनुपर्ने बाध्यता कायमै छ । सीमित आपूर्ति र अव्यवस्थित वितरण प्रणालीका कारण यो समस्या झन् जटिल बनेको स्थानीय कृषकहरूको भनाइ छ ।
कृषि प्रधान देशको नारा घन्किरहे पनि किसानले बालीको सिजनमा बर्सेनि भोग्नुपर्ने मल अभावले राज्यको नीति र कार्यक्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ । उत्पादन वृद्धि, आत्मनिर्भरता र किसानको मनोबल जोगाउन अब ‘आयातीत मल’ को भर पर्नुको साटो समयमै आपूर्ति सुनिश्चित गर्ने दीर्घकालीन योजना आवश्यक रहेको किसानहरूको माग छ ।
मलको अभावले उत्पादन घट्ने मात्र होइन, अन्ततः यसले बजारमा खाद्य असुरक्षा र मूल्यवृद्धिको चक्रलाई समेत बढावा दिने खतरा देखिएको छ । सरकारले बेलैमा आपूर्ति व्यवस्थापन नगरे बारा र पर्साको कृषि उत्पादनमा यस वर्ष ठूलो गिरावट आउने किसानहरुको भनाई छ ।



