१४ बैशाख, काठमाडौं । लेबनन र इजरायलबीच तनाव कम गर्ने उद्देश्यले तीन हप्ताका लागि युद्धविराम थपिएको केही दिनमै पुनः हिंसा भड्किएको छ ।
युद्धविरामको सम्झौता कार्यान्वयनमै रहेको अवस्थामा आइतबार इजरायली सेनाले लेबननका विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा १४ जनाले ज्यान गुमाएका छन् । लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई महिला समेत रहेका छन् भने ३७ जना सर्वसाधारण घाइते भएका छन् । यो आक्रमणले युद्धविरामको स्थायित्वमाथि गम्भीर संकट पैदा गरिदिएको छ ।
इजरायलले भने यस आक्रमणलाई आफ्नो सुरक्षाका लागि चालिएको कदमका रूपमा व्याख्या गरेको छ । युद्धविराम सम्झौतामा उल्लेखित ुआफ्नो सुरक्षाका लागि आवश्यक उपाय अपनाउन पाउनेु प्रावधानलाई टेकेर इजरायलले लेबननमा बमबारी गरेको हो ।
आक्रमण हुनुअघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तत्काल घर छाड्न चेतावनी दिएका थिए। प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायली सेना सक्रिय रहेको र पूर्ण शक्ति परिचालन गरिएको बताउँदै हेजबुल्लाहले नै युद्धविरामको सर्त उल्लंघन गरेको दाबी गर्नुभएको छ ।
शान्ति स्थापनाको प्रयास स्वरूप गत बिहीबार मात्रै युद्धविरामको अवधि लम्ब्याइएको थियो। तर, इजरायलको पछिल्लो सैन्य सक्रियता र हेजबुल्लाहमाथिको आरोप(प्रत्यारोपले लेबननको दक्षिणी क्षेत्र पुनः त्रसित बनेको छ ।
बालबालिका र महिलासहितका सर्वसाधारणको हताहतीले अन्तर्राष्ट्रिय समुदायमा पनि चिन्ता थपिदिएको छ । युद्धविरामका बावजुद इजरायलले गरेको यो ठूलो सैन्य कारबाहीले मध्यपूर्वको अस्थिरता अझै केही समय लम्बिने संकेत गर्यो ।



