काठमाडौं । सुकुमवासी बस्ती खाली गराउने सरकारी निर्णयविरुद्ध थापाथली क्षेत्रमा तनाव बढेको छ । स्थानीय बासिन्दा र युवाहरूले शुक्रबार बिहानदेखि विरोध प्रदर्शन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “सुकुमवासीको आवास अधिकार सुनिश्चित गर”, र “निरंकुश निर्णय चाहिँदैन” जस्ता नारा लगाएका छन् । उनीहरूले सुकुमवासीलाई वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सरकारको कदमको विरोध गरेका हुन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा सुकुमवासी बस्तीमा डोजर चलाए आफू प्रतिरोधमा उत्रिने बताएका थिए। तर हाल सोही दलसँग सम्बद्ध नेतृत्वकै सरकारबाट बस्ती खाली गराउने निर्णय भएपछि प्रदर्शनकारीहरूले उनको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै विरोध जनाएका छन्।
सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि माइकिङ सुरु गरेको थियो। शुक्रबार बिहानदेखि केही परिवारले आफ्ना सामान सार्न थालेका छन् भने अन्यले भने बस्ती नछोड्ने अडान लिएका छन्।
राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा प्रदर्शन भइरहेको छ। उनीहरूले थापाथलीबाट माइतीघर मण्डलासम्म र्याली निकाल्ने तयारी पनि गरेका छन्।
प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बस्ती खाली गराउने निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको नेतृत्वमा जिल्ला सुरक्षा समितिको बैठकले बस्ती खाली गराउने निर्णय गरेको हो। बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलसहित सुरक्षा अधिकारीहरू सहभागी थिए।
प्रशासनले पहिलो चरणमा काठमाडौं उपत्यकाका चार सुकुमवासी बस्तीमा डोजर चलाउने योजना बनाएको छ। निर्णय सार्वजनिक भएसँगै कतिपयले आफैं सामान सारिरहेका छन् भने कतिपयले आन्दोलनलाई तीव्र बनाउने चेतावनी दिएका छन्।
देशभर करिब १२ लाख भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासी रहेको अनुमान गरिएको छ, जसले यो विषयलाई राष्ट्रिय स्तरको सामाजिक र राजनीतिक मुद्दाका रूपमा उठाएको छ।



